कुवेतको अदालतमा हत्याको आरोपमा मृत्यु दण्डको सजाय भोगी रहेकी नेपाली चेली डोल्मा शेर्पाको जीवन रक्षार्थ
छिरिङ् तेन्जिङ्ग् शेर्पा,
काठमाडौं
कुवेतको अदालतमा हत्याको आरोपमा मृत्यु दण्डको सजाय भोगी रहेकी नेपाली चेली डोल्मा शेर्पाको जीवन रक्षार्थ काठमाडौंस्थित विभिन्न मानव अधिकारवादी तथा जातीय संघ-संस्थाहरुको पहलमा डोल्मा बचाउ अभियानद्धारा रकम संकलन कार्यक्रम शुरु गरेको छ । माईती नेपाल, पौरखी नेपाल, हेल्प नेपाल, मानव अधिकार आयोग, नेपाल शेर्पा संघ लगायत दर्जनौ संस्थाहरुको पहलमा बौद्ध जोरपाटीबाट सो अभियान शुरु गरेको हो ।
डोल्मा नेपाली चेली हो, मृत्यू दण्ड दिन पाँईदैन, डोल्मा शेर्पालाई नेपाल फर्काउ आदि चर्को नाराहरु लगाउँदै सहभागीहरुले सबैलाई अनुरोध गर्दै रकम उठाएका थिए । एक बर्ष अघि कुबेतमा एक फिलिफिनो महिलाको हत्याको आरोप लागेका सिन्धुपाल्चोकको दुर्गम गाउँबाट कुबेत पुगेकी डोल्मा शेर्पा हाल कुबेतको जेलमा मृत्यू दण्डको दिन पर्खि बसेकी छिन। कुबेतको अदालतको सो निर्णय नेपालको 'माईती नेपाल' नामक मानव अधिकारवादी संस्थाले पहिलो पटक पत्रकार सम्मेलन गरी डोल्मा शेर्पाको मुद्दालाई सार्वजनिक गरेपछि देश विदेशमा रहेका दर्जनौ संघ संस्थाहरुले हालसम्म ३१ लाख नेपाली रुपैया भन्दा बढि आर्थिक रकम संकलन गरि सकेको छ ।
अशिक्षा र भाषाको अभावमा परिबन्धमा परि विगत एक बर्षदेखि बन्दी जीवन बिताई रहेकी डोल्मा शेर्पासँग हालसम्म स्पष्टसँग बुझ्ने भाषामा बयान लिन सकेको छैन । डोल्मा शेर्पाले आफू निर्दोष रहेको बताउँदै आएकी छिन् । मृतक फिलिपिनो परिवारले उचित क्षेति पूर्ति पाएमा माफी दिन सक्ने संकेत देखिएको शेर्पाको वकिलले बताएका छन् । हाल नेपाल सरकारले पनि उनको लागि वकिलको व्यवस्था गर्नुका साथै फिलिपिनो परिवारलाई क्षेतिपूर्ति उपलब्ध गराई उनलाई माफी गराउन पहल भईरहेको बताइएको छ । तर डोल्मा शेर्पा बचाऊ अभियान लगायतले भने सरकारले उचित पहल गर्न नसकेको आरोप लगाउँदै आएको छ ।