संविधानसभा अदालतले संविधानसभा निर्वाचनमा महोत्तरीको क्षेत्र नम्बर ६ बाट विजयी शरतसिंह भण्डारीको नाम संविधानसभा सदस्यको अन्तिम नामावलीमा समावेश नगर्न सोमबार आदेश दिएको छ ।
संविधानसभा निर्वाचन अन्तर्गत भएको महोत्तरी ६ को निर्वाचन बदर गरी पाउं भनि दायर उजुरीमा अदालत अध्यक्ष अनुपराज शर्मा, सदस्यद्वय तपबहादुर मगर र राजकुमारप्रसाद साहको इजलासले सो आदेश दिएको हो ।
तीन सदस्यीय उक्त इजलासले भण्डारीलाई उजुरीको प्रत्युत्तर नपरेसम्मका लागि संविधानसभा सदस्यको हैसियतमा सपथ नगराउन र अन्य काम नगर्न नगराउन आदेश दिएको छ। कुल सदर मतभन्दा बढी मत दललाई दिइएको हुँदा निर्वाचन परिणाम बदर गर्न माग राखी उक्त क्षेत्रबाट उठेका ११ उम्मेदवारले बैशाख ९ गते संयुक्त रुपमा उजुरी दिएका थिए । उजुरीमा विपक्षी बनाइएका निर्वाचन आयोग, मधेशी जनअधिकार फोरमका तर्फबाट निर्वाचित उम्मेदवार भण्डारी, जिल्ला निर्वाचन अधिकृतको कार्यालयलगायतले अदालतमा प्रत्युत्तर पेस गरेपछि आदेशको निरन्तरतामाथि छलफल हुनेछ ।
सो क्षेत्रमा अवैध मत गणना गरी निर्वाचन परिणाम नै फरक पारेको दावी गर्दै नेकपा माओवादीका उम्मेदवार कासी महतो, सद्भावना पार्टीका देवेन्द्रकुमार यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका नरेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत गिरि, राष्ट्रिय जनता दलका राजदेवप्रसाद यादवसमेत ११ जनाले उजुरी दिएका हुन् । भण्डारीका प्रतिद्वन्दी नेपाली कांग्रेसका सिताराम भण्डारी २१ मतको अन्तरले पराजित भएका थिए ।