विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन शनिबार नेपाल पत्रकार महासंघको २२ औं महाधिवेशन सुरु भएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन शनिबार नेपाल पत्रकार महासंघको २२ औं महाधिवेशन सुरु भएको छ ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शनिबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा महाधिवेशन उद्घाटन गर्नुभयो । कोइरालाले त्यस अवसरमा लोकतान्त्रिक आन्दोलनमा प्रेस जगतले पुर्याएको योगदानको स्मरण गरे । 'यो प्रजातन्त्रको जग बसाल्ने संस्था भएको छ,' उनले भने- 'नयाँ संविधान निर्माणमा यसको प्रभावकारी भूमिका हुनेछ ।' महाधिवेशनले पत्रकारहरूलाई नयाँ दिशा र दृष्टिकोण दिने उल्लेख गर्दै कोइरालाले महासंघप्रति आफ्नो पूर्ण सहयोग र समर्थन रहने विश्वास दिलाए ।
उद्घाटन समारोहका विशेष अतिथि सभामुख सुवास नेम्वाङले आन्दोलनका उपलब्धि संस्थागत गर्ने प्रक्रियामा स्वतन्त्र प्रेसको महत्त्वपूर्ण भूमिका हुने बताए । 'नयाँ संविधान निर्माण भएपछि मात्र (आन्दोलनको) दायित्व पूरा हुन्छ,' उनले भने ।
दलहरूबीच सहमति र सहकार्यको विकल्प नभएको उल्लेख गर्दै सभामुख नेम्वाङले जनादेश कार्यान्वयनका लागि छलफलमा जुट्न दलहरूसँग आग्रह गरे । 'संविधानसभाको निर्वाचन बहुमतका लागि गरिएको संसदीय चुनाव होइन,' उनले भने- 'यो सबै दलले पहिल्यै प्रतिबद्धता जनाएको विषय हो ।'
अधिवेशन सफलताको शुभकामना दिँदै सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले प्रेस स्वतन्त्रता जनताको मौलिक हकका रूपमा संविधानमा संस्थागत भइसकेको बताए । सूचनाको हक र श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको तयारी सरकारले गरिरहेको जानकारी दिँदै उनले राज्यका तर्फाट उत्कृष्ट पत्रकारलाई पुरस्कृत गरिने बताए ।
महासंघका पूर्वअध्यक्षहरू होमनाथ दाहाल, हरिहर विरही, सुरेश आचार्य, किशोर नेपाल, तारानाथ दाहाल, प्रेस काउन्सिलका अध्यक्ष राजेन्द्र दाहाल, नागरिक आन्दोलनका अगुवा कृष्ण पहाडीलगायतका वक्ताहरूले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि अझै खतरा रहेको औंल्याए ।
महासंघका अध्यक्ष विष्णु निष्ठुरीले नयाँ बन्ने संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिनुपर्ने बताए । 'दलहरूको घोषणापत्रको प्रतिबद्धताअनुरूप भविष्यमा प्रेसमाथि कुनै ज्यादती नहुने कुरा सुनिश्चित हुनुपर्छ,' उनले भने ।