राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माण नगरी राजालाई हटाउन खोजे दुर्घटना हुने चेतावनी दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माण नगरी राजालाई हटाउन खोजे दुर्घटना हुने चेतावनी दिनुभएको छ । रिपोर्र्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थापाले यस्तो चेतावनी दिनुभएको हो ।
आफूले माओवादी अध्यक्षका तथा अन्य नेताहरुलाई भेटी राजाका बारेमा हतारमा निर्णय नगर्न सुझाव दिएको बताउँदै थापाले भन्नुभयो -'संविधानको पहिलो अक्षरनै नलेखी राजा हटाउदा मुलुक अर्को दलदलमा फस्नेछ ।‘
आफूसंगको भेटमा राजा आफैले मुलुक कुनै हालतमा नछाड्ने स्पष्ट पारेको समेत उहाँले बताउनुभयो । कल्चरल किङको बारेमा भने तत्काल केही नबोल्ने थापाले बताउनुभयो ।
जनादेशका आधारमा सरकार बन्नुपर्ने उल्लेख गर्दै थापाले नेकपा माओवादी ठूलो दलका रुपमा स्थापित भएकाले उसलाई सरकारको नेतृत्व गर्ने अधिकार स्थापित भएको बताउनुभयो । उहाँले चुनावमा माओवादी र फोरमले उल्लेख्य जित हासिल गरेकामा बधाई समेत दिनुभयो ।
आफू राजाको प्रवक्ता नभएको बताउँदै थापाले राजाको अस्तित्व रहनुपर्छ भन्ने मान्यताका आधारमा अघि बढ्ने राजनीतिक कार्यकर्ता भएको दावी गर्नुभयो । थापाले आगामी दिनमा आफ्नो दलले जिम्मेवार प्रतिपक्षको भूमिका निभाउने समेत स्पष्ट पार्नुभयो ।