माओवादी जनसेनाद्वारा हत्या गरिएका कोटेश्वरका व्यवसायी रामहरी श्रेष्ठको शव फेला परेको छ ।
माओवादी जनसेनाद्वारा हत्या गरिएका कोटेश्वरका व्यवसायी रामहरी श्रेष्ठको शव फेला परेको छ । १४ दिन अघि हत्या गरि त्रिशुली नदीमा फलिएका श्रेष्ठको शव नारायणगढ मुग्लिन सडकखण्डको जुगेडी पुल मुनि आज विहान स्थानिय वासिन्दाले भेट्टाएपछि प्रहरीलाई जानकारी गराएका थिए ।
जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका माओवादी जनसेना गोविन्दबहादुर वटालासहित प्रहरी टोली पुगेको थियो । प्रहरीले वटालाकै वयानका आधारमा सो शव श्रेष्ठको भएको पुष्टि गरेको बताएको छ । पुलमुनिबाट बाहिर निकालिएको शव पानीले फुलेका कारण चिन्न नसक्ने अवस्थामा रहेको भएपनि अभियुक्त जनसेना गोविन्द बहादुर वटालाले लगाएका कपडा र हुलियाका कारण सो शव हत्या गरिएका व्यापारीकै भएको बताएका छन् ।
सो शवको डि एन ए परिक्षण गरि अनुसन्धान अघि बढाईने सो हत्याको छानविनमा संलग्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक प्रकाश मल्लले जानकारी दिनु भयो । शवलाई हाल भरतपुर अस्पतालमा राखिएको छ ।
यसैबिच मृतक श्रेष्ठकी पत्नी रमिलाले डिएनए परिक्षण नगरि शव नबुझ्ने बताएकी छिन् । डिएनए परिक्षणबाट लास मृतक पतिकै हो भन्ने प्रमाणित भएपछि मात्र स्विकार्ने तथा बुझ्ने उनले बताइन् । श्रेष्ठको हत्याको बिरोधमा आन्दोलनको नेतृत्व गरिरहेका नागरिक समाजका संयोजक ज्ञानकुमार श्रेष्ठले माओवादी सेनाको तेश्रो डिभिजन कमाण्डर बिबिधले चिहानबाट लास निकालेर त्यहाँ फालेको दावी गरे ।