नागरिक समाजका अगुवाहरुले गणतन्त्र घोषणालगत्तै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
नागरिक समाजका अगुवाहरुले गणतन्त्र घोषणालगत्तै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालमा आयोजित अर्न्तक्रियामा उनीहरुले जेठ १५ गते गणतन्त्र कार्यन्वयन घोषणाको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउन सरकार र राजनीतिक दलहरुले कार्यक्रम प्रकाशित गर्नुपर्ने माग गरेका छन् ।
अर्न्तक्रियामा बोल्दै अगुवाहरुले गणतन्त्रलाई व्यवहारिक रुपमा कार्यान्वयत गर्नसकेमात्र जनताको मतको कदर हुने बताउनुभयो । अगुवाहरुले संविधानसभाबाट गणतन्त्र घोषणा र राजदरवारमा राष्ट्रिय झण्डोत्तोलन एकै समयमा हुनुपर्ने पनि माग गरेका छन् । गणतन्त्र घोषणालाई राष्ट्रिय पर्वका रुपमा मनाउन नागरिक अगुवाहरुले 'गणतन्त्र महाउत्सव नागरिक समिति' निर्माण गरेको पनि कार्यक्रममा घोषणा गरेको छ ।
नागरिक समितिले जेठ १४ गते बेलुका ५ बजे राजधानीको शहीदमंचमा गणतन्त्र महाउत्सवको उपलक्षमा सास्कृतिक कार्यक्रम आयोजना गरेको छ भने जेठ १५ गते बिहान ७ बजे राजधानीको बसन्तपुरबाट प्रभातफेरी गर्दै संविधानसभा बैठकस्थल नयाँ बानेश्वरमा रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्र पुग्ने घोषणा गरेको छ ।
नागरिक समाजका अगुवा पदमरत्न तुलाधरले गणतन्त्र कार्यान्वयनको दबाब दिन जेठ १५ गते वृहत दबाब कार्यक्रम गर्नुपर्ने बताउनुभयो । उहांले हजारौं नेपाली जनता संविधानसभा बैठकस्थल छेउ भेला भएर गणतन्त्र कार्यान्वयन गराउन दबाब दिनुपर्ने बताउनुभयो ।
संविधानविद निलाम्बर आचार्यले दलहरुले गणतन्त्र कार्यान्वयनको मार्गलाई सरल बनाउन तत्काल निर्णय गर्नुपर्ने सुझाव दिनुभयो । मानवअधिकारवादी सुशील प्याकुरेलले गणतन्त्र कार्यान्वयन घोषणाकै दिन हुनुपर्ने जोड दिनुभयो ।