नेकपा एकताकेन्द्र मसालका महामन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सात दिनभित्र नेपालका नयां राष्ट्रपति चयन हुने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रकाशले राष्ट्रपति, उपराष्ट्रपति, कार्यकारी अधिकारसहितको प्रधानमन्त्री, संविधानसभाका अध्यक्षलगायतका प्रमुख पद वितरणका लागि छलफल निकै अघि बढिसकेकोले सात दिनभित्रमा सहमति भईसक्ने जानकारी गराएका हुन् ।
कार्यक्रमममा प्रकाशले शक्ति बांडफांडबाटै दलहरुबिच सहमति खोजिनुपर्नेमा जोड दिए । उनले शक्ति बांडफांडका सन्दर्भमा एउटै दलले दुइवटा महत्वपूर्ण पद लिनै नहुने भन्ने नभएको बताए । माओवादीले राष्ट्रपतिको समेत दाबी गरिरहेको बताउदै कार्यकारी अधिकारसहितको प्रधानमन्त्रीका लागि प्रस्तुत गरिएका प्रचण्ड सेरेमोनियल राष्ट्रपति बन्ने सम्भावना नरहेकाले अन्यलाई अगाडि सार्नसक्ने बताए ।
नेपालमा सिक्किमिकरण र भुटानीकरणको खतरा रहेको भन्दै प्रकाशले विदेशी हस्तक्षेपलाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । राजदूतहरुले नेपालको राजनीतिक नेतृत्वलाई निर्देशन दिन खोजेको उनको आरोप थियो ।
ऐतिहासिक जनआन्दोलनको उपलब्धिका रुपमा हालै सम्पन्न भएको संविधानसभा निर्वाचनपछिको पहिलो बैठकले मुलुकलाई गणतान्त्रिक बनाएकाले ज्ञानेन्द्र शाहले १५ दिनभित्र दरबार छाड्नुपर्ने भन्दै उनले नछाडे बन्दी बनाउने चेतावनी समेत दिए । नेपालीका सामु अवसर र चुनौती दुवै आएको उनको भनाई थियो ।
नेकपा माओवादी र एकताकेन्द्र मसालबीचको एकता प्रक्रिया अन्तिम चरणसम्म पुगेको उनको भनाई थियो । एकता अघि पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राखिने र माओवादीले प्रचण्डपथ त्याग्ने बताए । नेपालमा एकमात्र कम्युनिष्ट पार्टी हनुपर्नेमा उनको जोड थियो ।