गणतन्त्रिक नेपालको पहिलो राष्ट्रपतिमा डा.रामवरण यादव विजयी हुनु भएको छ ।
सोमबार ८ बजेदेखि ११ बजेसम्म सम्पन्न निर्वाचनमा कुल ५९४ जना सभासदहरु मध्ये ५९० जनाले मत खसालेका थिए । राप्रपा नेपालका ४ जना सभासदले भने मतदान बहिष्कार गरेका थिए ।
नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमका संयुक्त उम्मेदवारका रुपमा प्रस्तुत गरीएका डा. रामवरण यादवले ३०८ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्दी रामराजाप्रसाद सिंहले २८२ मत प्राप्त गर्नु भएको थियो । उहाँलाई नेकपा माओवादी, तराई मधेश लोकतान्त्रीक पार्टी, नेपाल सद्भावना पार्टी लगायतका दलहरुले समर्थन गरेका थिए ।
डा.रामवरण यादव नेपाली कांग्रेसका महामन्त्री हुनुहुन्छ । धनुषामा जन्मनुभएका उहां लामो समय चिकित्सा पेशामा संलग्न हुनुहुन्थ्यो । २०१७ सालबाट राजनीतिमा लाग्नुभएका उहां आफूलाई वीपी कोइरालाका अनुयायी मान्नुहुन्छ । वीपीका व्यक्तिगत चिकित्सकको भूमिका समेत निभाउनुभएका उहाँ २७ औं वीपी जयन्तीकै दिन राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
धनुषाबाट संविधानसभा सदस्य समेत निर्वाचित हुनुभएका उहां मधेशवादीबाट निकै आलोचित नेता हुनुहुन्छ । मधेश आन्दोलनको शैली र उद्येश्य गलत भएको भन्दै आलोचना गर्दा उहांलाई मधेशविरोधीका रुपमा प्रचार गरिएको थियो । विगतमा उहाँले स्वास्थ्यमन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ । डा.यादव नेपाली कांग्रेसभित्र स्पष्ट वक्ताका रुपमा समेत परिचित हुनुहुन्छ ।