नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले सपथ लिनुभएको छ । ८ साउनमा राष्ट्रपतिभवन शितलनिवासमा विशेष समारोहकाबीच सपथ लिनुभएको हो ।
प्रधानन्यायाधीश केदारप्रसाद गिरीले सपथ गराउनुभएपछि उहांलाई नेपाली सेनाको विशेष टुकडीले सलामी दिएको थियो । सपथ समारोहमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, प्रधानसेनापति रुक्माङगत कटवाललगायतको उपस्थिति थियो ।
यसअघि उहांलाई बागडोलस्थित निजी निवासबाट कारगेडसहित राष्ट्रपतिभवन ल्याइएको थियो ।
यसैबीच उपराष्ट्रपति परामानन्द झाले पनि आजै राष्ट्रपति यादवबाट सपथ लिनुभएको छ । राष्ट्रपति डा.रामवरण यादवले नेपाली भाषामै सपथ लिनुभएको थियो भने उपराष्ट्रपति झाले हिन्दीमा सपथ लिनुभएको थियो ।
सपथ ग्रहणपछि राष्ट्रपति डा.रामवरण यादवले सहमति र समन्वयमा जोड दिनुभएको छ ।
'जनताको सर्वोपरी हितका लागि सहमति र समन्वय आवश्यक छ,' यादवले भन्नुभयो, 'नयाँ युगमा हामी सबै मिलेर जाऊं ।' उहांले लोकतान्त्रिक प्रणाली र जनताको हितका लागि पटक पटक प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हिमाल जलको भण्डार, पहाड जंगलले भरिएको र तराई उर्वर जमिन भएकाले सबै मिली फाइदा लिनुपर्नेमा जोड दिनुहुँदै आफू राष्ट्रिय एकताका लागि सधै सक्रिय भइरहने उहाँले बताउनुभयो ।