राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेपछि प्रधानमन्त्री चयनका लागि आगामी शुक्रबार व्यवस्थापिका संविधानसभामा निर्वाचन हुने भएको छ ।
राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेपछि प्रधानमन्त्री चयनका लागि आगामी शुक्रबार व्यवस्थापिका संविधानसभामा निर्वाचन हुने भएको छ । व्यवस्थापिका संसदको हैसियतमा सोमबार बसेको संविधानसभाको बैठकले निर्वाचनका लागि आगामी शुक्रबारको दिन तोकेको हो ।
त्यसअघि सोमबार बिहान बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्री निर्वाचनको कार्यविधि तय गरेको थियो । निर्वाचनका लागि आगामी शुक्रबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म प्रधानमन्त्री पदका उम्मेदवारले प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ।
सोही प्रस्तावलाई शुक्रबार अपरान्ह १ बजे व्यवस्थापिका संसदको हैसियतमा बस्ने संविधानसभा बैठकमा निर्णयार्थ प्रस्तुत गरी बहुमतका आधारमा प्रधानमन्त्री चयन गरिनेछ । निर्वाचनका लागि सभाध्यक्ष सुवास नेम्बाङले संविधानसभा सचिवालयका कार्यबाहक महासचिव मनोहरप्रसाद भट्टराईलाई अधिकृत तोक्नु भएको छ ।
राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेपछि राष्ट्रपति रामवरण यादवले गरेको आव्हान अनुरुप संविधानसभाको बैठकले प्रधानमन्त्री चयनको प्रक्रिया टुंगो लगाएको हो ।