भाषालाई प्रमूख आधार बनाएर संघीय राज्यको निर्माण गरिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
भाषालाई प्रमूख आधार बनाएर संघीय राज्यको निर्माण गरिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । राजधानीमा आज आयोजित “संघीय राज्य व्यवस्थापनमा भाषिक नीति” विषयक एक दिने कार्यशाला गोष्ठीमा बोल्दै उनीहरुले सो कुरामा जोड दिएका हुन् ।
तामाङ प्राज्ञ सभाद्धारा आयोजित उक्त गोष्ठीमा विभिन्न भाषाका भाषाविद्, संविधानसभाका सभासद्, जातीय संघ संस्थाका प्रतिनिधिलगायत विभिन्न विज्ञहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा प्राज्ञ सभाका महासचिव एवं वरिष्ठ भाषाविद् अमृत योन्जन तामाङले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सोही क्रममा बोल्दै योन्जनले एकल भाषा नीतिका कारण केहि भाषाहरु मरिसकेको र केहि मर्ने क्रममा रहेको जानकारी गराउनुभयो । उहाँले एकल भाषा नीतिले अन्य भाषालाई मारिने भएकाले बहुभाषिक नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । योन्जनद्धारा प्रस्तुत महत्वपूर्ण कार्यपत्रले सबैको ध्यान केन्द्रित गराउनुका साथै भाषिक आन्दोलनमा पछाडि पर्नुका कारणहरुका बारेमा सोँच्न बाध्य पारेका थिए ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा बालकृष्ण मावुहाङले जातीय स्वशासित राज्यहरु बन्दा भाषालाई राज्य संरचनाको अभिन्न अंग बनाईनुपर्ने बताउनुभयो । उहाँले जातीय स्वशासनको कुरा गर्दा न्यून संख्यामा रहेका जातिलाई वेवास्त गर्न नहुनेतर्फ सचेत गराउनुभयो । त्यस्तै चन्द्रसिंह कुलुङले जातिको आधार भाषा भएकाले भाषालाई प्रमूख आधार बनाएर र सबै पक्षलाई समावेशी बनाएर संघीय राज्यको निर्माण गरिनुपर्ने बताउनुभयो । आदिवासी आन्दोलनका नेतृत्वकर्ताहरुले पनि यस विषयलाई सैद्धान्तिक रुपमा मात्र लिएको बताउँदै उहाँले उक्त विषयलाई व्यवहारमा स्थापित गर्न आग्रह गर्नुभयो ।
सोही क्रममा कृष्ण कुमारी वाईवाले एकल भाषा नीतिमा नेपाली भाषाले अन्य भाषालाई मारिए जस्तै बहुभाषिक नीतिमा कुनै एक भाषाले अन्य भाषालाई मारिन नहुने तर्क राख्नुभयो । अर्का वक्ता बयानसिंह राईले संविधानसभामा प्रतिनिधित्व गरेका आदिवासी जनजाति सभासदहरुको मात्र भर पर्न नहुने बताउँदै आदिवासीहरुको मागलाई संविधानमा स्थापित गराउन सबै सक्रिय हुनुपर्छ भन्नुभयो ।
डा. केशवमान शाक्यले संविधानसभामा आदिवासीका विषय उठाउने सभासद न्यून रहेको बताउँदै प्रमूख पार्टीहरुबाट आदिवासी जनजातिको प्रतिनिधित्व गरी आएका सभासदहरुले आदिवासीलगायत जातीय मागलाई उठाउन नसकेको आरोप लगाउनुभयो । उहाँले छलफलमा उठेका विषयहरुलाई नयाँ संविधानमा स्थापित गराउनु महत्वपूर्ण र चुनौतीपूर्ण रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा उपस्थित सभासदहरु हर्षजित लामा (नेका), प्रकाश पाख्रिन (एमाले), सूर्यमान दोङ (माओवादी) लगायतले आदिवासी लगायत सम्पूर्ण पिछडिएका वर्ग, जाति, लिङ्गको मागलाई नयाँ संविधानमा स्थापित गराउन जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभयो । आदिवासीहरुको मागलाई लत्याउने गरी पार्टीले ह्वीप जारी गरेमा त्यसका विरुद्ध सम्पूर्ण आदिवासीहरुको साथ अगाडि बढ्ने प्रतिबद्धता समेत उहाँहरुले व्यक्त गर्नुभयो ।
कार्यक्रममा अन्य विभिन्न वक्ताहरुले समेत आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रमका अध्यक्ष एवं तामाङ प्राज्ञ सभाका कार्यवाहक अध्यक्ष धन लामाले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै यस किसिमको महत्वपूर्ण विषयहरुमा प्राज्ञ सभाले निरन्तर गोष्ठी एवं अर्न्तक्रियाहरुको आयोजना गरिने बताउनुभयो ।