पारिवारिक सुख, शान्ति, कल्याण र रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने
तराईवासी नेपालीको महान् चाड छठ पर्व मंगलबार साँझ अस्ताउँदो सूर्य र बुधबार बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ्य दिई सम्पन्न गरिंदै छ । पारिवारिक सुख, शान्ति, कल्याण र रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा तराईका नदी-तलाउमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ ।
काठमाडौंमा बस्ने तराईवासीले विगत केही वर्षदेखि रानीपोखरी र वाग्मती नदी किनारमा भेला भई सो पर्व मनाउने गर्दै आएका छन् । सूर्य आराधनाको यस पर्वलाई 'छठ' भन्ने चलन छ । चैत महिनाको शुक्लपक्षमा 'चैती छठ' र कात्तिक महिनाको शुक्लपक्षमा 'कात्तिकी छठ' मनाउने परम्परा रहे पनि कार्तिकी छठको महत्व ठूलो भएकाले धेरैजसो श्रद्धालुले कार्तिकी छठलाई महत्व दिने गर्छन् ।
यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया पूजा पनि भन्ने गरिन्छ । उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन व्रतालु नुहाएर चोखो भई आफैले बनाएको सात्विक भोजन गर्ने गर्छन् ।
'खरना' भनिने दोस्रो दिन दिनभर व्रतालु उपवास बसेर साँझको समयमा छठमाईको पूजा गरेपछि 'खरना'को प्रसाद आˆना परिवारलाई दिने र आफूले पनि प्रसाद खाने गर्छन् ।
व्रतको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा पवित्र जलाशयमा नुहाएर ठेकुवा, पुरी, चामलको पिठोको सख्खरसहितको लड्डु, विभिन्न प्रकारका फलफूल, उखु, नरिवल, बेसारको बोट र मिष्ठान्नलाई बाँसले बनाइएको ढाकी, नाङ्लो आदिमा राखेर नदी, पोखरी, नहर र जलाशयको छेउमा गएर अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गर्ने परम्परा छ ।
व्रतालुले पानीमा बसेर भक्तिपूर्वक पूजा गरी अस्ताएको सूर्यलाई अघ्र्य दिएर दर्शन गर्छन् । यस कार्यमा उपस्थित परिवारका सदस्यले पनि अघ्र्यमा दूध र गङ्गाजल हालेर अघ्र्य दिन सघाउँछन् ।
रातभरि भजन कीर्तनसहित छठमाईको पूजा-आजा गरी भोलिपल्ट सप्तमी तिथिमा उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर यो पवित्र पर्वको समापन गरिन्छ ।
त्यसपछि आफन्त र इष्टमित्रलाई छठमाईको पूजाको प्रसाद खुवाउने चलन छ । छठ पूजाले आˆना परिवारलाई एक ठाउँमा भेला हुने अवसर प्रदान गर्छ । यस अवसरमा नयाँनयाँ वस्त्र धारण र चेलीबेटीलाई आमन्त्रण गरिन्छ ।