निर्वाचन आयोगले संविधानसभा निर्वाचनमा ३३५ सीटका लागि दलहरुले पाएको सीट संख्या घोषणा गरेको छ । आयोगले पत्रकार सम्मेलन गरी समानुपातिकतर्फको मतदानमा राजनीतिक दलहरुले पाएको मतका आधारमा प्रतिनिधित्व संख्याको घोषणा गरेको हो ।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार २५ दलहरुले समानुपातिक प्रणालीबाट संविधानसभामा प्रतिनिधित्व पाएका छन् । समानुपातिकबाट पनि प्रत्यक्षमा जस्तै माओवादीले पहिलो स्थान ओगटेको छ । त्यस्तै नेपाली कांग्रेस दोश्रो, एमाले तेश्रो, मधेशी जनअधिकार फोरम चौथो र तराई मधेश लोकतान्त्रिक पार्टीले पाँचौ स्थान पाएका छन् ।
समानुपातिक प्रणालीबाट माओवादीले १००, नेपाली कांग्रेसले ७३, एमालेले ७०, फोरमले २२ र तराई मधेश लोकतान्त्रिक पार्टीले ११ जना संविधानसभामा पठाउन पाउने भएका छन् । यसैगरी नेपाल कम्युनिष्ट पार्टी माले र राष्ट्रिय प्रजातन्त्र पार्टीले ८-८, नेपाल कम्युनिष्ट पार्टी संयुक्त, राजेन्द्र महतोको सदभावना पार्टी र जनमोर्चाले ५-५ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ४ स्थान पाएका छन् ।
राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकिकृत, नेपाल सदभावना (आनन्दीदेवी), नेपाली जनता दल र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले २-२ स्थान पाएका छन् ।
यस्तै समाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपाल, दलित जनजाति पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालको पनि एक एक सदस्यले प्रतिनिधित्व पाउनेछन् ।
निर्वाचनमा भाग लिएका ५४ मध्ये २९ दलले भने आवश्यक मत ल्याउन नसकेकाले संविधानसभामा सीट प्राप्त गर्न नसकेको निर्वाचन आयोगका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईले बताउनुभयो ।
प्रतिनिधित्व पाएका दलहरुले बन्दसूचीबाट प्राप्त सिट संख्याका उम्मेदवारको नाम सिफारिस गर्न ७ दिनको म्याद दिइएको छ । ती दलहरुले आयोगले तोकेको म्याण्डेट अनुसार मधेशी, दलित, जनजाति, आदिवासी, महिलाको प्रतिनिधित्व गराई नाम पठाउनुपर्नेछ ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा ६३ प्रतिशत मत खसेको छ । कुल १ करोड ११ लाख ४६ हजार ५ सय ४० मत खसेकोमा १ करोड ७ लाख ३९ हजार ७८ मत सदर भएको थियो ।