नेपाली कांग्रेसले काठमाडौंको खुलामञ्चमा आज आयोजित आमसभालाई प्रधानमन्त्री एवं पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले संबोधन गर्नुभएको छ ।
नेपाली कांग्रेसले काठमाडौंको खुलामञ्चमा आज आयोजित आमसभालाई प्रधानमन्त्री एवं पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले संबोधन गर्नुभएको छ । सभालाई संवोधन गर्दै कोईरालाले गणतन्त्र स्थापना नै आफूहरुको जीत भएको बताएका छन् ।
सभामा उपस्थित पार्टी समर्थकहरुबिच कोइरालाले भने, 'गणतन्त्र ल्याउनु नै कांग्रेसको जीत हो ।' गणतन्त्र कुनै पार्टी विशेषका कारण नभई जनताको योगदानबाट आएको उनको भनाई थियो । सहमति, सहकार्य र मेलमिलापनै कांग्रेसको शक्ति भएकाले त्यसैलाई आधार बनाएर अघि बढ्ने बताए । सहमतिविपरितका गतिविधि गरेर माओवादीले शान्ति प्रक्रिया विपरितको काम गरेको उनको आरोप थियो ।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीलाई आफूहरुले शान्ति प्रक्रियामा ल्याएर ठूलो जीत हासिल गरेको बताए । त्यस्तै कार्यवाहक सभापति सुशील कोइरालाले हतियारको राजनीति सधैका लागि समाप्त हुनुपर्ने बताए ।
सभालाई शान्ति तथा पुनः निर्माणमन्त्री रामचन्द्र पौडेल, उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री विमलेन्द्र यादव, महामन्त्री डा.रामवरण यादव, कांग्रेस प्रवक्ता एवं सहमहामन्त्री अर्जुननरसिंह केसीलगायतले संवोधन गरेका थिए । कार्यक्रमको सभापतित्व उपसभापति प्रकाशमान श्रेष्ठले गरेका थिए ।