नेकपा माओवादीका वरिष्ठ नेता पोष्टबहादुर बोगटीले रामराजाप्रसाद सिंहको नाम आफ्नो पार्टीले राष्ट्रपतिको लागि प्रस्ताव गर्ने बताएका छन् ।
नेकपा माओवादीका वरिष्ठ नेता पोष्टबहादुर बोगटीले रामराजाप्रसाद सिंहको नाम आफ्नो पार्टीले राष्ट्रपतिको लागि प्रस्ताव गर्ने बताएका छन् । राजधानीमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बोगटीले रामराजाप्रसाद गणतन्त्रका सच्चा योद्धा हुन् भन्दै तीन दल र १३ दलको बैठकमा राष्ट्रपतिका लागि नाम प्रस्ताव गर्ने बताए ।
उनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एमाले नेता माधवकुमार नेपाललाई कुनै हालतमा राष्ट्रपति मान्न नसक्ने बताए । नेपाली कांग्रेस र नेकपा एमालेले शर्तहरु तेर्साएर माओवादीलाई सरकारमा जानबाट रोक्न खोजेको आरोप लगाउँदै उनले भने –‘हलो अड्काएर गोरु चुट्ने काम भइरहेको छ ।' प्रधानमन्त्री कोइरालाले तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको ढोका खोल्नुपर्ने उनले बताए । शान्ति सम्झौतामै सेना समायोजनबारे स्पष्ट उल्लेख भइसकेकाले त्यसबारे बखेडा झिक्नुको कुनै अर्थ नभएको उनको जिकिर थियो ।
त्यस्तै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको प्रथम राष्ट्रपति मधेशी हुनुपर्नेमा जोड दिँदै माओवादीले रामराजालाई राष्ट्रपतिमा प्रस्ताव गरे आफूहरुको पूर्ण स्वीकृति रहने बताए । नेपाली कांग्रेस र नेकपा एमालेलाई सत्तामोह रहेको उनक आरोप थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले माओवादीको व्यवहारकै कारण गिरिजाप्रसाद कोइराला राष्ट्रपतिका लागि बलियो उम्मेदवार प्रमाणित भएको दाबी गरे । माओवादी गिरिजाप्रसाद कोइरालाबाट तर्सिएको उनको आरोप थियो । आफूहरु सहमति र सहकार्यको पक्षमा रहेको भन्दै माओवादीले जिम्मेवारी देखाएर सहमतिको पालना गर्नुपर्ने उनले बताए ।
नेकपा एमालेका सभासद अग्नि खरेलले राष्ट्रपति चयन प्रक्रियाका बारेमा दलहरुबीच सहमति बन्दै गएको बताए । उनले आफ्नो दलबाट कसैलाई पनि राष्ट्रपतिका रुपमा प्रस्ताव नगरिएको बताए ।
जनमोर्चा नेपालका उपाध्यक्ष लिलामणि पोखरेलले दलहरुको शक्तिसंर्घषले जनतामा असन्तुष्टि बढाउने बताउँदै तीन दलले राष्ट्रपतिमा सहमति जुटाउन नसकेकाले समस्या जटिल बन्दै गएकोले सहमति र सहकार्यबाट राष्ट्रपतिलगायत प्रमुख पदहरुको बांडफांड हुनुपर्नेमा जोड दिए ।
मधेशी जनअधिकार फोरमकी केन्द्रीय सदस्य रेणु यादवले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्वास्थ्यका कारण राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न अर्समर्थ रहेको र रामराजाप्रसाद सिंहलाई पनि आफ्नो दलले राष्ट्रपतिको लागि समर्थन नगरिसकेको बताइन् ।