आदिवासी जनजाति साँस्कृतिक महोत्सव २०६५ पाल्पाको तानसेनमा कार्तिक १७ गतेबाट शुरु भएको छ ।
आदिवासी जनजाति साँस्कृतिक महोत्सव २०६५ पाल्पाको तानसेनमा कार्तिक १७ गतेबाट शुरु भएको छ ।
महोत्सवमा सन्चालन गरिने ५ वटा गोष्ठीहरुको आदिवासी महासंघ संघिय परीषद अध्यक्ष पाशाङ्ग शेर्पाले उद्घाटन गर्नु भएको छ ।
गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष शेर्पाले दलहरु बिचको खिचातानीले गर्दा निधारित समयमा संविधान बन्न नसक्ने बताउँदै यसको जिम्मा सभाषदले होइन तिन दलका मूख्य नेताले लिनु पर्ने बताउनु भएको छ । सभाषदलाइ दलहरुले बलिको बोका बनाएर जनताको बिषयमा सोच्नेतिरभन्दा पनि पार्टिका नेतृत्वको दास बनाएर अल्मल्याको बताउनु भयो ।
गोष्ठी उद्घाटन कार्यक्रमको प्रमुख अतिथीसमेत रहनु भएका अध्यक्ष शेर्पाले आदिवासी जनजातिहरुको सम्पूर्ण हक-अधिकारलाई अब बन्ने नयाँ संविधानमा उल्लेख गराउन सभासदहरुले कुनै आनाकानी गर्न नहुने स्पस्ट पार्नुभयो । उहाँले भन्नुभयो 'पाल्पाका जनताहरुले आफूले निर्वाचित गरेर पठाएको सभासदहरुले जनजातीको पक्षमा कत्तिको आवाज उठाएका छन् त्यसको सोधखोज र लेखाजोखा गर्नु पर्छ ।'
त्यस्तै संघिय परिषदका सदस्य वसन्त घर्ती मगरले ऐतिहासिक महत्वको जिल्ला पाल्पामा भएको यस आदिवासी जनजाती सांस्कृतिक महोत्सवले आफैमा युगान्तकारी महत्व र सार बोकेको विचार राख्नु भयो । नेपाल मगर संघका केन्द्रिय महासचिवसमेत रहनु भएका घर्ती मगरले महोत्सव अवधिभर ब्यापक जनपरिचालन गर्नु पर्ने सुझावसमेत दिनु भयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले आदिवासीहरुको जातिय पहिचान, मौलिक हकलगायत सम्पूर्ण अधिकारहरुलाई सुनिश्चित गर्न गराउन सबै राजनैतिक दल र राज्य पक्षले पनि आफ्नो दायित्व निभाउनु पर्ने विचार राखेका थिए ।
कार्तिक २८ गतेसम्म चल्ने महोत्सवको औपचारिक समुदघाटन भने कार्तिक २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्ने कार्यक्रम रहेको छ । २० गतेको उदघाटन महोत्सवमा नेपालमा रहेका ५९ वटा जनजातिहरुका झाँकी, पोशाक, खाना लगाएत स्थानिय समुदायका नाँच, झाँकीहरु देखाइने छ । 'जातिय स्वायतत्ता र आत्मनिर्णयको अधिकार, स्वाधिन संघिय र संवृद्ध नेपाल निर्माणको मूल आधार' भन्ने नारासहित शुरु भएको महोत्सवमा कार्तिक २३ गतेदेखि ५ दिनसम्मको नमुना सभासद बठैकसमेत राखिएको छ ।
यस बैठकबाट आदिवासी जनजातिको संविधानमा हक, अधिकार सुनिश्चत गर्नका लागी पाल्पा घोषणपत्र तयार गरिने आयोजक समितिले जनाएको छ । विभिन्न जातिय संघसंस्थाका आदिवासी जनजाति र गैर आदिवासीहरुसमेत सहभागी हुने गोष्ठिमा संघियता सम्बन्धी राजनैतिक, आर्थिक, सस्कृति र महिला सम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । आदिवासिको आन्दोलनको रुपमा नै यो महोत्सव गर्न लागिएको जिल्ला समन्वय परिषद पाल्पाका अध्यक्ष गम बहादुर थापाले बताउनु भएको छ।
करीब २६ लाख ७५ हजार खर्च लाग्ने अनुमान गरिएको महोत्सवको तयरीका लागी मूल समिति लगायत १५ वटा उप समिति गठन गरिएको नेपाल अदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाल्पाले जनाएको छ ।